काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाह ‘बालेन’माथि झापामा आक्रमण हुनसक्ने सूचना सुरक्षा निकायले प्राप्त गरेको खुलासा गरेका छन्।

खनालका अनुसार निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा ठीक अघिल्लो दिन नेपाली सेनाका प्रधानसेनापतिबाट आफूलाई बालेन शाहमाथि झापामा आक्रमण हुनसक्ने सूचना प्राप्त भएको थियो।

उनले उक्त सूचना पाएपछि आफू र तत्कालीन गृहमन्त्रीबीच फोनमार्फत छलफल भएको बताएका छन्। सम्भावित घटना भए निर्वाचन नै प्रभावित हुनसक्ने निष्कर्षमा पुगेको उनको भनाइ छ।

खनालले भनेका छन्, “मौन अवधिभन्दा ठ्याक्कै अगाडि आएको एउटा सूचनाले हामी सबैलाई झस्कायो। झापामा बालेन शाहमाथि आक्रमण हुँदैछ भनेर सेनाप्रमुखले मलाई जानकारी दिनुभएको थियो। गृहमन्त्रीज्यूलाई पनि भन्नुभयो होला।”

उनका अनुसार त्यसपछि आफू र गृहमन्त्रीबीच फोनवार्ता भएको थियो। सम्भावित आक्रमण भए निर्वाचन प्रक्रिया नै भाँडिन सक्ने जोखिम देखिएपछि तत्काल सुरक्षा सतर्कता अपनाइएको उनले बताएका छन्।

खनालका अनुसार सुरक्षा निकायको सहयोगमा बालेन शाह सवार हेलिकप्टरलाई समेत तत्काल फिर्ता बोलाइएको थियो। हेलिकप्टर आकाशमा पुगिसकेको अवस्थामा सुरक्षाका कारण उक्त निर्णय गरिएको उनको भनाइ छ।

निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारमाथि सम्भावित आक्रमणको सूचना आएको दाबीले अहिले राजनीतिक तथा सुरक्षा वृत्तमा चासो बढाएको छ। यद्यपि, आक्रमणको योजना कसले बनाएको थियो, त्यसमा को–को संलग्न थिए र सुरक्षा निकायले प्राप्त गरेको सूचनाको आधार के थियो भन्ने विषयमा थप आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ।

झापा–५ बाट उम्मेदवार बनेका बालेन शाहले उक्त निर्वाचनमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका थिए। निर्वाचन परिणामअनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका थिए।