काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह कतारको दोहा हुँदै न्युयोर्क जाने कार्यक्रम छ। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले उहाँलाई स्वागत गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) दोहाबाट न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्। न्युयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत अधिकारीहरूले उहाँलाई स्वागत गर्नेछन्।

न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नेछन्। त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतले भ्रमण तथा कार्यक्रमबारे उहाँलाई ब्रिफिङ गर्नेछन्।

त्यसपछि प्रधानमन्त्री शाह नेपालको स्थायी नियोगद्वारा आयोजना हुने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ।

असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्। त्यसलगत्तै उहाँले संयुक्त राष्ट्रसङ्घको महासभाको सामान्य बहसमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

महासभामा प्रधानमन्त्री शाहले नेपालका समसामयिक विषय तथा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असर र जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी गरिएको छ।

प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट दोहा हुँदै नेपाल फर्कनेछन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली अधिकारीहरूले उहाँलाई स्वागत तथा बिदाइ गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका रहेको छ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह सेप्टेम्बर १८ देखि २८ सम्म आयोजना भइरहेको छ। महासभाको सामान्य बहस सेप्टेम्बर २२ देखि २६ तथा २८ सम्म चल्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ।