काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले २०८३ असोज २ गते प्रकाशित गरेको सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद) तथा प्रहरी कार्यालय सहयोगी पदमा गरी कुल ३३४ पदमा आवेदन माग गरिएको हो।

माग गरिएका पदमध्ये प्रहरी सहायक निरीक्षक (जनपद) २११ जना, प्रहरी कार्यालय सहयोगी (भान्छे) ८३ जना, हजाम १५ जना र कुचीकार २५ जना रहेका छन्।

कहिलेसम्म आवेदन दिने?

प्रहरी सहायक निरीक्षक (जनपद) र प्रहरी कार्यालय सहयोगी पदका लागि २०८३ असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ। प्रहरी सहायक निरीक्षक पदका लागि आवेदन Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दिनुपर्नेछ भने कार्यालय सहयोगी पदका लागि तोकिएका केन्द्रमा स्वयं उपस्थित भएर आवेदन दिनुपर्नेछ।

कति लाग्छ आवेदन शुल्क?

प्रहरी सहायक निरीक्षक पदका लागि अनलाइन आवेदन शुल्क रु. ५०० तोकिएको छ। एकभन्दा बढी समावेशी समूहमा आवेदन दिने उम्मेदवारका लागि प्रत्येक थप समूहमा रु. १०० शुल्क लाग्नेछ।

त्यस्तै, प्रहरी कार्यालय सहयोगी पदका लागि रु. २०० आवेदन शुल्क तोकिएको छ र थप प्रत्येक समूहका लागि रु. ४० शुल्क लाग्नेछ।

प्रहरी सहायक निरीक्षकका लागि योग्यता

प्रहरी सहायक निरीक्षक (जनपद) पदका लागि मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। उम्मेदवार नेपाली नागरिक हुनुपर्ने लगायत सूचनामा तोकिएका अन्य योग्यता पूरा गर्नुपर्नेछ।

उमेरतर्फ आवेदनको अन्तिम मितिसम्म १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ। प्रहरी सेवाका राजपत्र अनंकित प्रहरी कर्मचारीका लागि भने अधिकतम उमेर ३५ वर्ष तोकिएको छ।

शारीरिक मापदण्डतर्फ पुरुषको न्यूनतम उचाइ ५ फिट २ इन्च, छाती ३१–३३ इन्च र तौल ५० केजी तथा महिलाको न्यूनतम उचाइ ५ फिट र तौल ४२ केजी हुनुपर्ने सूचनामा उल्लेख छ।

कार्यालय सहयोगीका लागि योग्यता

प्रहरी कार्यालय सहयोगी पदका लागि साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ। उमेर १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ।

पुरुषको न्यूनतम उचाइ ५ फिट, छाती ३१–३३ इन्च र तौल ५० केजी तथा महिलाको न्यूनतम उचाइ ४ फिट १० इन्च र तौल ४२ केजी हुनुपर्नेछ।

परीक्षा कसरी हुनेछ?

छनोट प्रक्रियामा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा, विशेष स्वास्थ्य परीक्षण, क्षमता परीक्षण तथा अन्तर्वार्ता समावेश छन्।

लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ। वस्तुगत बहुउत्तर प्रश्नको गलत उत्तर दिएमा २० प्रतिशत अंक कट्टा हुने व्यवस्था रहेको छ।

प्रहरी सहायक निरीक्षक पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा सम्बन्धी तालिका २०८३ कात्तिक २० गते सम्बन्धित प्रहरी कार्यालय तथा नेपाल प्रहरीको वेबसाइटमा प्रकाशित गरिनेछ।

आवेदन कहाँबाट दिने?

प्रहरी सहायक निरीक्षक पदका लागि नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत आवेदन दिनुपर्नेछ। आवेदनका लागि नेपाल प्रहरीको वेबसाइटको Career → Online Application बाट वा careers.nepalpolice.gov.np मार्फत प्रक्रिया अघि बढाउन सकिनेछ।

आवेदन दिनुअघि सूचनामा उल्लेख गरिएका उमेर, शैक्षिक योग्यता, शारीरिक मापदण्ड तथा आवश्यक कागजातसम्बन्धी सबै सर्त पूरा भएको सुनिश्चित गर्न नेपाल प्रहरीले आग्रह गरेको छ।

स्रोत: नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौं।