काठमाडौं । प्रधानमन्त्री बालेनले बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता भएका नागरिकको खोज तथा उद्धारका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको भन्दै उद्धार कार्यमा कुनै कसर बाँकी नराखिएको बताएका छन्। भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरोपछि भोटेकोशी नदीमा लेदोसहित आएको आकस्मिक बाढीले रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढीका कारण […]
काठमाडौं । प्रधानमन्त्री बालेनले बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता भएका नागरिकको खोज तथा उद्धारका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको भन्दै उद्धार कार्यमा कुनै कसर बाँकी नराखिएको बताएका छन्।
भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरोपछि भोटेकोशी नदीमा लेदोसहित आएको आकस्मिक बाढीले रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढीका कारण केही आयोजना क्षेत्रमा कार्यरत कर्मचारी तथा अन्य व्यक्तिहरू सम्पर्कविहीन भएका थिए।
प्रधानमन्त्री बालेनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जोखिमपूर्ण अवस्थामा समेत निरन्तर खोज तथा उद्धार गरिरहेको छ। उद्धार कार्यमा सहयोग पुर्याउन भारत, चीन तथा कोरियाबाट समेत विशेषज्ञ टोली परिचालन गरिएको छ।
रसुवागढी, लाङटाङ, चिलिमे तथा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित संरचनामा विशेष उपकरण र प्रविधिको प्रयोग गरी खोजी भइरहेको छ। केही स्थानमा सुरुङभित्र सयौँ मिटर प्रवेश गरेर खोजी गर्दा बेपत्ता व्यक्तिका शव फेला पारिएको तथा केहीको जीवितै उद्धार गरिएको जनाइएको छ। त्यस्तै, नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ आयोजनामा पनि नेपाली सेना तथा प्राविधिक टोलीले कठिन परिस्थितिका बीच खोजी कार्य जारी राखेको छ। थर्मल इमेजिङ, इन्फ्रारेड क्यामेरा, ड्रोन तथा विभिन्न प्रकारका एस्काभेटरलगायत उपकरण प्रयोग भइरहेको छ।
प्रधानमन्त्री बालेनले विपद्को यस्तो संवेदनशील अवस्थामा प्रभावित परिवारको पीडा आफूहरूले गम्भीर रूपमा बुझेको बताउँदै खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
“हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौँ। हामीलाई हाम्रो जिम्मेवारीको संवेदनशीलता थाहा छ,” प्रधानमन्त्री बालेनले भने। उनले खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, प्राविधिक तथा मित्रराष्ट्रका विशेषज्ञ टोलीप्रति धन्यवाद व्यक्त गर्दै प्रभावित परिवारलाई धैर्य गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार बेलुका फेसबुक बाट उक्त कुरा बताउनुभएको हो !