काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा हैजा लगायतका संक्रामक रोग फैलिन नदिन सरकारले खोप अभियान सुरु गर्ने भएको छ। बाढीका कारण सरसफाइ तथा खानेपानीमा समस्या देखिन सक्ने भएकाले सम्भावित महामारी रोकथामका लागि पूर्वतयारीस्वरूप खोप अभियान सञ्चालन गर्न लागिएको सरकारसँग मौज्दात रहेको १ लाख २ हजार १२३ डोज हैजाविरुद्धको खोप बाढी प्रभावित जिल्लामा […]
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा हैजा लगायतका संक्रामक रोग फैलिन नदिन सरकारले खोप अभियान सुरु गर्ने भएको छ। बाढीका कारण सरसफाइ तथा खानेपानीमा समस्या देखिन सक्ने भएकाले सम्भावित महामारी रोकथामका लागि पूर्वतयारीस्वरूप खोप अभियान सञ्चालन गर्न लागिएको 
सरकारसँग मौज्दात रहेको १ लाख २ हजार १२३ डोज हैजाविरुद्धको खोप बाढी प्रभावित जिल्लामा पठाइँदैछ।
रसुवाका लागि २१ हजार ६०० डोज मुखबाट दिइने हैजाविरुद्धको खोप हेलिकप्टरमार्फत पठाइसकिएको छ। रसुवामा भदौ २५ गतेदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।
त्यस्तै, नुवाकोटका लागि ८० हजार ५२३ डोज खोप स्थलमार्गबाट पठाइँदैछ। नुवाकोटमा पनि यही साताभित्र खोप अभियान सुरु गर्ने सरकारको तयारी छ।
१ वर्षमाथिका सबैलाई खोप
खोप अभियानअन्तर्गत प्रभावित क्षेत्रका १ वर्ष वा सोभन्दा माथिका सबै नागरिकलाई हैजाविरुद्धको खोप दिइनेछ। वडा कार्यालयस्तरमा स्वास्थ्य स्वयंसेवकमार्फत नागरिकलाई खोप खुवाउने व्यवस्था गरिनेछ।
सरकारका अनुसार बाढी प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइको अवस्था कमजोर हुँदा हैजा लगायतका संक्रामक रोग फैलिने जोखिम रहेकाले समयमै रोकथामका लागि अभियान सञ्चालन गर्न लागिएको हो।
टिटानस र दादुरा–रुबेलाको खोप पनि दिइने
यसैबीच, रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा टिडी (टिटानस–डिफ्थेरिया) तथा दादुरा–रुबेला खोप अभियान पनि सञ्चालन गर्ने तयारी गरिएको छ।
उद्धार तथा राहत कार्यमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा चोटपटक लागेका नागरिकलाई टिटानसबाट जोगाउन टिडी खोप दिइनेछ।
त्यस्तै, ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी दादुरा–रुबेला खोप आगामी दुई हप्ताभित्र दिइसक्ने सरकारको योजना छ।
राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस
खोप ऐनअन्तर्गत गठित राष्ट्रिय खोप सल्लाहकार समितिले बाढी प्रभावित क्षेत्रमा सरसफाइको कमीका कारण हैजा तथा अन्य संक्रामक रोग फैलिन सक्ने जोखिम रहेको भन्दै पूर्वतयारीस्वरूप खोप अभियान सञ्चालन गर्न सिफारिस गरेको हो।
खोप तथा स्वास्थ्य सेवासम्बन्धी थप जानकारीका लागि ‘हेलो स्वास्थ्य’को टोल–फ्री नम्बर १११५ मा सम्पर्क गर्न सकिनेछ।
