टोकियो — जापानमा थप विदेशी नागरिकलाई स्वीकार गर्ने विषयमा विरोध गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको एक अध्ययनले देखाएको छ। टोकियो विश्वविद्यालयअन्तर्गतको एक संस्थाले सार्वजनिक गरेको अध्ययनअनुसार, जापानमा थप विदेशी नागरिक स्वीकार गर्न नहुने धारणा राख्ने मानिसको सङ्ख्या ५६.३ प्रतिशत पुगेको छ। यो सन् २०२४ को तुलनामा २०.७ प्रतिशत विन्दुले बढी हो। अध्ययनमा विशेषगरी युवा पुस्ता […]
टोकियो — जापानमा थप विदेशी नागरिकलाई स्वीकार गर्ने विषयमा विरोध गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको एक अध्ययनले देखाएको छ।
टोकियो विश्वविद्यालयअन्तर्गतको एक संस्थाले सार्वजनिक गरेको अध्ययनअनुसार, जापानमा थप विदेशी नागरिक स्वीकार गर्न नहुने धारणा राख्ने मानिसको सङ्ख्या ५६.३ प्रतिशत पुगेको छ। यो सन् २०२४ को तुलनामा २०.७ प्रतिशत विन्दुले बढी हो।
अध्ययनमा विशेषगरी युवा पुस्ता तथा जापानी समाजको भविष्यप्रति निराशा व्यक्त गर्ने मानिसहरूमा विदेशी नागरिक थपिने विषयप्रति बढी नकारात्मक धारणा देखिएको छ। करिब ३,८०० जनाको प्रतिक्रिया समेटिएको सर्वेक्षणमा थप विदेशी नागरिक स्वीकार गर्ने पक्षमा रहेका मानिसहरूको सङ्ख्या भने घटेर ९.४ प्रतिशत मा पुगेको छ।
अध्ययनका अनुसार सन् १९६६ देखि १९७६ बीच जन्मिएका व्यक्तिहरूमा विदेशी नागरिक स्वीकार गर्ने विषयप्रतिको विरोध १९.४ प्रतिशत विन्दुले बढेको छ। त्यस्तै, सन् १९८७ देखि १९९८ बीच जन्मिएका युवा समूहमा विरोध २४.३ प्रतिशत विन्दुले बढेको पाइएको छ।
विश्वविद्यालयका प्राध्यापक शिन आरिताका अनुसार जापानी समाजप्रतिको असन्तुष्टि, भविष्यप्रतिको चिन्ता तथा विदेशी नागरिकबारे हुने नकारात्मक बहसले यस्तो धारणा बढाउन भूमिका खेलेको हुन सक्छ।
अध्ययनले विशेषगरी आफ्नो आमाबाबुको पुस्ताको तुलनामा जीवनस्तरमा सुधार नभएको महसुस गर्ने तथा जापानी समाजको भविष्यप्रति आशावादी नरहेका मानिसहरूमा विदेशी नागरिकको उपस्थितिप्रति नकारात्मक धारणा बढी रहेको देखाएको छ।
यसले जापानमा घट्दो जनसङ्ख्या र श्रमशक्ति अभावका बीच विदेशी नागरिक स्वीकार गर्ने नीतिलाई लिएर सामाजिक धारणा थप चुनौतीपूर्ण बन्दै गएको संकेत गरेको छ।
