टोकियो । जापानमा स्थानीय निकायबाट सवारी चालक अनुमतिपत्र (Driving License) प्राप्त गर्न चाहने नेपाली नागरिकका लागि नेपाली राजदूतावास, टोकियोले प्रक्रिया थप सरल बनाएको छ।

राजदूतावासले जारी गरेको सूचनाअनुसार यसअघि नेपाली सवारी चालक अनुमतिपत्रलाई सम्बन्धित यातायात व्यवस्था कार्यालयको पत्रका आधारमा त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गराउनुपर्ने व्यवस्था थियो। त्यसपछि उक्त अनुमतिपत्रलाई नेपाली राजदूतावास, टोकियोबाट समेत प्रमाणीकरण गराउनुपर्ने प्रक्रिया रहेको थियो।

अब भने नेपाली सवारी चालक अनुमतिपत्रको प्रमाणीकरण राजदूतावास, टोकियोबाटै सोझै गर्न सकिने व्यवस्था गरिएको छ।

नयाँ व्यवस्थाले जापानमा स्थानीय सवारी चालक अनुमतिपत्र (Japanese Driving License) प्राप्त गर्ने प्रक्रियामा रहेका नेपाली नागरिकलाई आवश्यक कागजात प्रमाणीकरणका लागि नेपालमा थप प्रक्रिया पूरा गर्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।

राजदूतावासले नयाँ व्यवस्थासम्बन्धी थप जानकारी लिन तथा आवश्यक प्रक्रियाका लागि सम्बन्धित सबैलाई नेपाली राजदूतावास, टोकियोमा सम्पर्क गर्न अनुरोध गरेको छ।

नेपाली राजदूतावास, टोकियो
मिति: २०८३/०४/२८