काठमाडौं । विश्वभर रहेका क्रिप्टोकरेन्सी प्रयोगकर्ताले अब नेपाल सरकारको प्रधानमन्त्री विपद् राहत कोषमा क्रिप्टोमार्फत सहयोग गर्न सक्ने भएका छन्। यसका लागि क्रिप्टोकरेन्सी नेपाल पठाउनुपर्ने छैन। डिजिटल सम्पत्ति अमेरिकामै अमेरिकी डलरमा रूपान्तरण गरी औपचारिक बैंकिङ प्रणालीमार्फत नेपाल पठाइने व्यवस्था गरिएको छ।

दान गरिएको क्रिप्टोकरेन्सीलाई सुरुमा USDC मा रूपान्तरण गरिनेछ। त्यसपछि USDC लाई अमेरिकी डलरमा परिवर्तन गरी SWIFT बैंकिङ नेटवर्कमार्फत नेपाल पठाइनेछ।

  1. NepalRelief.org पोर्टलमार्फत Ethereum, Polygon र Solana लगायतका क्रिप्टोकरेन्सीबाट सहयोग गर्न सकिने व्यवस्था गरिएको छ।

यस प्रक्रियामा कुनै पनि क्रिप्टोकरेन्सी नेपाल प्रवेश नगर्ने बताइएको छ। नेपालमा क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार हाल प्रतिबन्धित रहेकाले रकमलाई विदेशमै रूपान्तरण गरी औपचारिक बैंकिङ प्रणालीबाट नेपाल पठाउने व्यवस्था गरिएको हो।

यस माध्यमबाट विश्वभर रहेका नेपाली तथा क्रिप्टोकरेन्सी प्रयोगकर्ताले नेपालमा विपद्का कारण प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सक्नेछन्।

सहयोग गर्न चाहनेहरूले NepalRelief.org पोर्टलमार्फत प्रक्रिया पूरा गर्न सक्नेछन्।